
लुम्बिनी प्रदेश सरकारले आज (बुधवार) प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउँदैछ । पूर्ववर्ती सरकारले ल्याएको बजेट विस्थापित गरी नयाँ बजेट ल्याउन लागेको हो ।
बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ को प्रदेश सरकारको बजेट आज १ बजे सदनबाट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।
अघिल्लो सरकारले ४० अर्बको बजेट ल्याएको थियो । नयाँ बजेट पनि त्यति नै आकारको हुुने खड्काले बताए । अघिल्लो प्रदेश सरकारले लिएको बजेटसम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लग्ने भएको छ ।
जसमा प्रदेश सरकारको अर्थसम्बन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमोजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश सञ्चित रकमबाट खर्च गर्ने अधिकार दिन अधिकारसम्बन्धी जारी विनियोजन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । अवरोधका बीच पनि बजेट ल्याउने सरकारको तयारी छ ।