
बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार शुक्रवार मात्रै गर्ने सहमति गरेको छ ।
मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक तयारी नपुगेको भन्दै नेताहरूले शुक्रवार मात्रै सरकार विस्तार गर्ने सहमति गरेका प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
दलहरूबीच मन्त्रालय भागबण्डामा कुरो मिल्न नसकेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । राजनीतिक दलहरूले मन्त्री हुने व्यक्तिको टुंगो भने लगभग लगाइसकेका छन् ।
सत्ता गठबन्धनमा सहभागी ५ दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताएको छ । त्यसबाहेक कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४/४ मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको थियो ।
त्यसमा पनि एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पाएको मन्त्रालयमा असन्तुष्टि राखेको स्रोतले बताएको छ । असोज १९ गते भएको गठबन्धन बैठकले गठबन्धनमा रहेका दलहरूलाई मोटामोटी रूपमा मन्त्रालय भागबण्डा गरेको थियो ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दाबी गरेका थिए । पछि भौतिक मन्त्रालय जसपालाई दिने सहमति भएको थियो ।
एकीकृत समाजवादीले पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कानून तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालयसहित १ राज्यमन्त्री पाउने भएको थियो ।
जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, कृषि र सामान्य प्रशासन मन्त्रालय पाउने टुंगो लागेको थियो ।
बैठकमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।