०४ साउन २०८३, सोमबार

दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी दुर्घटनाग्रस्त

असोज २२, २०७८
दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी दुर्घटनाग्रस्त

ताइवान र चीनबीच युद्धको वातावरण बनिरहेको बेलामा अमेरिकाको एक पनडुब्बी दक्षिण चीन सागरमा पानीमुनि रहस्यमय कुरासँग ठोकिएको छ । 

आणविक ऊर्जाबाट चल्ने अनि द्रुत गतिमा आक्रमण गर्न सक्ने उक्त पनडुब्बी दुर्घटनामा पर्दा ११ जना सैनिक घाइते भएको अमेरिकाको प्यासिफिक फ्लीटले बिहीवार जानकारी दिएको छ । 

दुर्घटना हुँदा अमेरिकी पनडुब्बी अन्तर्राष्ट्रिय जलसीमामा रहेको र पानीमुनि घटना भएको पनि जनाइएको छ । 

यूएसएस कनेक्टिकट नामक उक्त आणविक पनडुब्बीको स्थिति सामान्य रहेको र आणविक संयन्त्रलाई कुनै असर नपरेको बयान अमेरिकी जलसेनाले दिएको छ । 

त्यो पनडुब्बी ग्वामस्थित अमेरिकी जलसैन्य अड्डातर्फ फर्किरहेको र शनिवारसम्म त्यहाँ पुग्ने अपेक्षा गरिएको एक रक्षा अधिकारीले बताए । 

दुर्घटना भएको ठाउँमा विगत केही महिनादेखि व्यापक स्तरमा जलसैन्य गतिविधिहरू भइरहेका छन् । चीनको महत्त्वाकांक्षालाई लगाम लगाउनका लागि अमेरिकी जलसेनाले लगातार विमानवाहक युद्धपोत र आणविक पनडुब्बीहरू उक्त क्षेत्रमा पठाइरहेको छ । 

घटनाको अनुसन्धान गरिरहेको अमेरिकी जलसेनाले जनाएको छ । लगभग ३५३ फीट लामो यस पनडुब्बीलाई सन् १९८८ मा बनाइएको थियो । गश्तीका क्रममा यसमा चालक दलका ११६ मानिस सधैं तैनाथ हुन्छन् । 

चीनले पानीमुनि रहस्यमय कुरा राखेर यस पनडुब्बीलाई दुर्घटना गराएको आशंका गरिँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्