
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा एक जना गैर सांसदलाई पनि सरकारमा सहभागी गराएका छन् ।
अहिले राजनीतिमा सक्रिय नरहेका गजेन्द्र हमाल देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा हमाल मन्त्री बनेको स्रोतले बतायो ।
यसअघि प्रधानन्यायाधीश जबराको कोटामा दीपक तिमल्सिना मन्त्री बन्न लागेको चर्चा थियो । तिमल्सिनाको नाममा चर्को विवाद भएपछि हमाललाई अगाडि सारिएको हो ।
चौतर्फी विरोधका बावजुद प्रधानमन्त्री देउवाले हमाललाई मन्त्री बनाएका हुन् ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै चर्को विरोध भएपछि सर्वोच्च अदालतले विज्ञप्तिमार्फत नै खण्डन गरेको थियो ।
शुक्रवार मात्र नेमकिपा सांसद प्रेम सुवालले देउवालाई प्रधानमन्त्री बनाउने परमादेशको पारिश्रमिक स्वरूप मन्त्री बनाउन लागिएको भन्दै प्रश्न गरेका थिए ।
‘प्रतिनिधि सभामा मन्त्री बन्न योग्य कयौं सांसद हुँदाहुँदै राजनीतिक क्षितिजमा नभएका व्यक्ति कसको कोटाबाट मन्त्री बने हामी पनि आश्चर्यमा परेका छौं,’ नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका एक नेताले लोकान्तरसँग भने ।