
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा उपभोक्तालाई उपलब्ध गराउने खसी बोकाको मूल्य निर्धारण गरेको छ ।
शुक्रवार मूल्य निर्धारण गरिएको र शनिवारदेखि खसीबोकाको बिक्री शुरू गरिने कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार खसी बोकाको मूल्य प्रति केजी ६ सय ५० रुपैयाँ कायम गरिएको छ । जसमा उपभोक्ताले १० रुपैयाँ प्रति केजी छुट पाउने छन् ।
दशैंमा खसी तथा बोका कम्पनीबाट खरिद गरे ६ सा ४० रुपैयाँ प्रति किलोमा नै पाइने सूचना अधिकारी न्यौपानेले बताइन् ।
खसीबोकाको मूल्य गत वर्षभन्दा किलाेमा ९० रूपैयाँ बढेको छ । गत वर्ष छुटसहित ५ सय ५० रुपैयाँ प्रति किलोका दरले खसीबोका बिक्री गरिएको थियो ।
यता निजी व्यापारीहरूले भने खसी बोकाको मूल्य आन्द्राभुडी राखिएको मासु प्रतिकिलो १ हजार, बोसो राखिएकाको १ हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य १ हजार ३०० निर्धारण गरेका छन् ।
कुखुराको मासु प्रतिकिलो ३०० तथा राँगा र बंगुरको मासु ५/५ सय रुपैयाँ तोकिएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।
बजार हस्तक्षेप कायम राख्नका लागि लिमिटेडले दशैंमा खसीबोका ल्याउने र सुपथ मूल्यमा उपलब्ध गराउने गरेको छ ।
यस पटकको दशैंमा लिमिटेडले २ हजार खसीबोका ल्याउँदैछ ।