
जनता समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य रेनु यादवलाई शक्तिशाली मन्त्रालय दिएको छ ।
प्रायः हरेक राजनीतिक दलले माग दाबी गर्ने र सबैजसो सांसदको प्राथमिकतामा पर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उनलाई नियुक्त गरिएको हो ।
सप्तरीको खड्गपुर घर भएकी यादव २०६० मा महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्री, २०६५ मा शिक्षामन्त्री बनेकी थिइन् ।
२०२० असार ६ गते भारतमा जन्मिएकी यादव २०४७ देखि राजनीतिमा आवद्ध छिन् । नेपाली कांग्रेसको महिला संघको अध्यक्षसमेत भएकी उनले पछि कांग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दा सहायक महामन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।
२०६३ सालमा मधेश आन्दोलन भएपछि उनी फेरि तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा आवद्ध भएकी थिइन् । संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीच एकीकरण भएपछि सपामा समेत केन्द्रीय उपाध्यक्ष भएकी थिइन् ।
२०५६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सप्तरी जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी यादव २०६४ मा फोरम नेपालबाट सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
रेनु २०७४ मा तत्कालीन संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद चयन भएकी थिइन् ।