३१ जेठ २०८३, आइतबार
इनरुवामा तनाव

हिरासतमा थुनुवाको मृत्युपछि इनरुवा तनावग्रस्त, सुनियोजित हत्या भएको पीडित पक्षको आरोप

हिरासतमा थुनुवाको मृत्युपछि इनरुवा तनावग्रस्त, सुनियोजित हत्या भएको पीडित पक्षको आरोप
Photo : Inaruwa, Sunsari Facebook Page

प्रहरी हिरासतमै थुनुवाको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवा तनावग्रस्त बनेको छ ।

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण गर्न थालेपछि दोहोरो झडपसमेत भएको छ । 

ढुंगामुढापश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रु ग्याससमेत प्रहार गरेको थियो । 

झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन् । 

आन्दोलनकारीले चोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् ।

उनीहरूले प्रहरीले सुनियोजित रूपमा थुनुवाको हत्या गरेको आरोप लगाएका छन् ।

मृतकको शव बुझ्न पीडित पक्षले अस्वीकार गरिरहेका छन् ।

यता प्रहरीले भने हत्या नभई आत्महत्या भएको जिकिर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट रूपमा आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए ।

उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने पनि बताए ।

झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा–५ का मोहम्मद हकिम साह अनुसन्धानका क्रममा थुनामा थिए । 

पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् ।

उनीहरूले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भएको आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्