
दुई पाकिस्तानी नागरिकलाई अपहरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण गर्ने पनि पाकिस्तानी नागरिक नै रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पक्राउ पर्नेमा जिहान महम्मद र ताज रिवाज रहेको परिसर ललितपुरकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार असोज १८ गते बेलुका ललितपुरको धापाखेलस्थित सिभिल होम्सको घर नम्बर ४१७ मा दुई पाकिस्तानी नागरिकलाई बन्धक बनाइएको थियो । पाकिस्तानबाट युएईको शारजाह हुँदै नेपाल ल्याएर ती व्यक्तिहरूलाई बन्धक बनाइएको थियो ।
प्रहरीका अनुसार क्यानडा आइपुगेको भन्दै पाकिस्तानमा रहेका आफन्तसँग बन्धक बनाउने व्यक्तिहरूले २५ हजार डलर माग गरेका थिए ।
‘उनीहरूले नेपालको भूमि प्रयोग गरेर मानव तस्कर गर्न खोजेको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ एसएसपी बज्राचार्यले भनिन्, ‘उनीहरूले अन्य व्यक्तिहरूको पनि तस्करी गरेका छन् कि छैनन् भनेर अनुसन्धान भइरहेको छ ।’
प्रहरीले जिल्ला अदालत ललितपुरबाट शरीर बन्धक तथा अपहरणमा १५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ ।
बन्धक बनाएको कोठाबाट डोरी, ब्लेड तथा रडलगायतका सामग्रीसमेत प्रहरीले बरामद गरेको छ ।
पीडितहरूले झ्यालबाट आफू अपहरण परेको भन्दै चिच्चाएपछि स्थानीयवासीले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिएका थिए ।
प्रहरीका अनुसार पीडितहरूले पाकिस्तानीहरूले नै आफूहरूलाई बन्धक बनाएको भन्ने पक्राउ परेपछि मात्रै थाहा पाएका थिए ।