२८ जेठ २०८३, बिहीबार

उद्यमशील नेपाल बनाउन राष्ट्रिय योजना आयोग र दायित्व नामक संस्थाबीच सम्झौता

उद्यमशील नेपाल बनाउन राष्ट्रिय योजना आयोग र दायित्व नामक संस्थाबीच सम्झौता

नीतिनिर्माणको नेतृत्व गर्दै आएको राष्ट्रिय योजना आयोग र उद्यमशील नेपालको निर्माण गर्ने परिकल्पनाका साथ विगत ८ वर्षदेखि कार्यरत दायित्व नामक संस्थाबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, डा. विश्वनाथ पौडेलको रोहबरमा र सचिव केवल प्रसाद भण्डारीको उपस्थितिमा पाँचबुँदे सम्झौतापत्रमा आयोगको तर्फबाट कार्यक्रम निर्देशक डा. दिवाकर लुइँटेल र दायित्वको तर्फबाट संस्थापक तथा कार्यकारी अध्यक्ष डा. पुकार मल्लद्वारा हस्ताक्षर गरियो ।

दुई पक्षबीच अनुसन्धानमा सहकार्य, तथ्यमा आधारित नीतिगत पैरवी, उद्यमशीलता र रोजगारीको प्रवर्धन, नेतृत्व तथा व्यवस्थापन प्रशिक्षण र साझा प्राथमिकताका विषयमा आपसी समझदारी गरिने सम्झौतामा उल्लेख छ । 

यस सम्झौताले राष्ट्रिय योजना आयोग र दायित्वबीच २०७२ सालदेखि सुरु भएको सहकार्यको सम्बन्धलाई सुदृढ, प्रगाढ र दूरगामी बनाउने दुवै पक्षको दाबी छ । 

सम्झौता कार्यक्रममा आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले भने, ‘कुनै पनि सहकार्यको एउटा मुख्य पाटो भनेको आपसी सम्मान हो । एकअर्काको शक्तिलाई पहिचान गरी मिलेर काम गर्दै युवा र सरकारबीचको यस सहकार्यले नवप्रवर्तनको नयाँ आयामहरू खोल्नेछ ।’

हस्ताक्षर कार्यक्रममा उपस्थित आयोगका अन्य अधिकारीहरूलाई दायित्वको काम बारे जानकारी दिँदै सचिव केवल प्रसाद भण्डारीले यस सम्झौतापश्चात् दायित्वले तथ्यमा आधारित नीति अनुसन्धानमा सहयोग पुर्‍याउने भएकोले आयोगले छिट्टै नै अनुसन्धान गरिनुपर्ने विषयहरू पहिचान गरी तयार रहनुपर्नेमा जोड दिए ।

दायित्वका संस्थापक तथा कार्यकारी अध्यक्ष डा. पुकार मल्लले भने, ‘आज संसारको कुनै पनि कुनामा रहेका र नेपाल सरकारसँग मिलेर राष्ट्रलाई नीतिगत योगदान पुर्‍याउन चाहने नेपाली युवाहरूको लागि एक नयाँ बाटोको ऐतिहासिक अध्याय सुरु भएको छ । सरकार र समुदायको सहकार्यबाट समृद्धि हासिल हुने एउटा बलियो आधार सिर्जना भएको छ ।’ 

आयोग र दायित्वबीचको सहकार्यकै परिणामस्वरूप हाल दायित्व नेपाल सार्वजनिक नीति फेलोशिप कार्यक्रम २०२१ अन्तर्गत अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका नेपाली युवा अनुसन्धानकर्मी तासी वोङ्दी गुरुङले राष्ट्रिय योजना आयोगका लागि अनुसन्धान गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्