
प्रमुख राजनीतिक दलका शीर्ष नेतामध्ये केहीले दशैंको टीका लगाउन नपाउने भएका छन् भने केहीलाई स्वास्थ्यका कारण दशैंको खानपिनमा खुलेर रमाउन नसक्ने अवस्था छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भाइको निधन भएकाले यस वर्ष टीका लगाउने छैनन् ।
ओलीको त स्वास्थ्यका कारण पनि खानपिनमा निकै सजगता अपनाउनुपर्ने अवस्था छ ।
तन्दुरुस्त देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा खानपिनका शौखिन छन । उनले स्वास्थ्यकै कारण आफ्ना रूचिका खाना खान छाड्ने गरेका छैनन् । ७८ वर्षको उमेरमा पनि देउवाको स्वास्थ्य तन्दुरूस्त छ ।
कोरोना महामारीका कारण दशैंमा ठूलो भेटघाट र जमघटको कार्यक्रम प्रधानमन्त्री देउवाले बनाएका छैनन् । उनको निजी सचिवालयका अनुसार, देउवाको पारिवारिक रूपमा दशैं मनाउने कार्यक्रम छ ।
दशैंमा पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम भने नभएको देउवाका निजी सचिव भानु देउवाले बताए ।
‘प्रधानमन्त्रीज्यूले पारिवारिक रूपमा खानपिन र रमाइलो गरेर दशैं मनाउने कार्यक्रम बनाउनुभएको छ’, निजी सचिव देउवाले भने ।
रातो मासु र चिल्लोपिरो खान्नन् ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवमीका दिन (आज) झापा गएका छन् । झापाको दमकमा जलपान समारोह आयोजना गरिएको छ । ओली त्यसैमा सहभागी हुन झापा गएका हुन् । आजै उनी काठमाडौं फर्कने कार्यक्रम छ ।
ओलीले यस पटक विजयादशमीको टीका भने नलगाउने भएका छन् । उनका भाइको निधन भएका कारण ओलीले विजयादशमीको टीका लगाउन नपाएको उनको सचिवालयले बताएको छ ।

ओलीको दशैं र अन्य बेलाको खानपिनमा खासै फरक नहुने उनका प्रेस संयोजक रामशरण बजगाईंले बताए । मृगौला प्रत्यारोपण गरेका कारण उनले रातो मासु धेरै खान हुँदैन । चिल्लोपिरो कमै खानुपर्छ ।
‘उहाँको दशैंको खानपिनमा विशेष केही हुँदैन । अरू बेला र दशैंमा एउटै खानपिन हुन्छ’, बजगाईंले भने ।
पकाउन अघि सर्छन् प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैंमा विशेष कुनै कार्यक्रम बनाएका छैनन् । घरमा परिवारसँगै बस्ने र रमाइलो गर्ने बाहेकको ठूलो राजनीतिक कार्यक्रम नभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
प्रचण्डलाई पनि खानपिनका स्वास्थ्यका कारण कुनै रोकतोक छैन ।
‘अहिलेसम्म खानपिनमा रोकतोक गर्नुपर्ने समस्या देखिएको छैन’, सापकोटाले भने ।
हुन त अघिल्लो वर्षको दशैंमा प्रचण्ड आफैँले दाउरा बालेर खसीको मासु पकाइरहेको तस्वीर सार्वजनिक भएको थियो ।

श्रीमती सीता दाहाल अस्वस्थ भएका कारण पनि उनले दशैंमा घर बाहिर जाने कार्यक्रम बनाएका छैनन् ।
खसीको मासु खाँदैनन् नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पनि घरमै पारिवारिक रूपमा दशैं मनाउने कार्यक्रम रहेको छ ।
उनले सानीआमा शान्ता नेपालबाट विजयादशमीको टीका ग्रहण गर्ने र घरमा सामान्य रूपमा कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम छ ।
नेपाल भाइरल ज्वरोले बिरामी परेका कारण केही दिनअघि दुई दिन त्रिवि शिक्षण अस्पताल बसेर फर्किएका थिए । उनको सचिवालयका अनुसार, नेपाल बिरामी भएर विकनेस भएका कारण खानपिनमा सामान्य ध्यान दिनुपर्ने अवस्था छ ।
उनी खसीको मासु भने खाँदैनन् । ‘कुखुराको मासु र माछा उहाँको रोजाइमा हुन्छ । खसीको मासु खानुहुन्न’, सचिवालयले भन्यो ।
सापकोटाको सामान्य दशैं
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले सामान्य रूपमा शुभकामना आदानप्रदान गरेर दशैं मनाइरहेका छन् । नवमीका दिन (आज) सापकोटा गृहजिल्ला सिन्धुपाल्चोक पुगेका छन् ।
बलेफी गाउँपालिका–४ आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने, त्यसपछि घरमा पारिवारिक भेटघाट गर्ने र साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।
सापकोटाले पनि स्वास्थ्यकै कारण दशैंमा खानपिनमा हच्किनुपर्ने अवस्था छैन ।
‘जनयुद्धको बेलादेखि नै सामान्य रूपमा दशैं मनाउने गरिएको छ । स्वास्थ्यकै कारण उहाँले खानपानमा विशेष सजगता अपनाउनुपर्ने अवस्था छैन’, न्यौपानेले भने ।
पौडेल माछा–मासुको पारखी
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यस वर्ष दशैं छैन । उनका माइलो भाइको मृत्यु भएको कारण यस वर्षको विजयादशमीको टीका नलगाउने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।
दशैंको अवसरमा काठमाडौंमै रहनेछन् । सामान्य राजनीतिक भेटघाट गरी घरमै रहेर पौडेलले दशैं मनाइरहेका छन् । पौडेल माछामासुका पारखी हुन् । उनी चिल्लोपिरो कम खान्छन् । पौडेल भन्छन्, ‘उहाँ माछामासुको पारखी हो । चिल्लोपिरो भने कम खानुहुन्छ ।’