त्यो बेलाको दशैं

८४ वर्षीया पदमाको भोगाइ : ‘अहिले त दशैंजस्तै लाग्दैन’

उत्तम पोखरेल
उत्तम पोखरेल

पोखरेल लोकान्तर डट्कमका प्रदेश १ प्रतिनिधि हुन् ।

८४ वर्षीया पदमाको भोगाइ : ‘अहिले त दशैंजस्तै लाग्दैन’

मोरङको विराटनगर महानगरपालिका–६ बस्ने पदमादेवी कोइराला ८४ वर्षकी भइन् । उनी ४ पुस्तिका धनी हुन् ।


Advertisement

उनका ६ छोरा, ४ छोरी छन् । २७ नातिनातिनी र २१ पनाति पनातिनी छन् । १६ छोराछोरीमध्ये अहिले उनका १० जना सन्तान जीवितै छन् ।


Advertisement

विभिन्न कालखण्डमा विभिन्न समस्या भोगेकी उनले ८४ वटा दशैं मनाइसकेकी छन् । १५ वर्षको उमेरमा ओखलढुंगामा विवाह गरेकी उनले विवाहपछिका दशैंमा भोगेका समस्या र खुशीयाली यसरी साटिन् –

सानै उमेरमा मेरी आमाको निधन भयो । निधन भएपछि घरमा १ जना छोरी मान्छे चाहिन्छ भनेर बुवाले मेरो विवाह नगरी राख्नुभयो । त्यो समयमा ६–७ वर्षको उमेरमै विवाह हुन्थ्यो ।


Advertisement

माइतमा हुँदा गाउँका लोग्ने (छोरा) मानिसहरू भेला भएर पिङ लगाइदिने अनि गाउँभरका केटाकेटीलाई बोलाएर खेल भनेर भन्ने गरेको यतिबेला पनि झल्झली सम्झन्छु ।

विवाह भएपछिका दशैंमा पिङ खेल्न नपाइए पनि दुःख र संघर्षले रमाइलो हुने गर्थ्यो । 

१ महिना अघिदेखि दशैंको तयारी भनेर लागिन्थ्यो । घरमै तोरी हुन्थ्यो । त्यतिबेला मिलहरू थिएनन् । काठबाट बनाइएको कोल हुन्थ्यो । कोलमा लगेर तोरी पेल्नुपर्थ्यो । गाउँमा एउटा मात्रै कोल हुन्थ्यो, पालो गरेर पेल्नुपर्थ्यो । आफ्नो पालो आउने अघिल्लो दिन तोरी भुटेर ढिकीमा कुट्नुपर्थ्यो । कुटेको तोरीलाई भोलिपल्ट लगेर पिसिन्थ्यो ।

दशैंका लागि १० पाथीसम्म तोरी पेल्नुपर्थ्यो । पछि त्यही तेलमा मासु पकाइन्थ्यो । पहिला तेल, घ्यू, मरमसला नपुगेको मासु खाइँदैन्थ्यो । आफूले नै घरमा पालेका ठूला–ठूला खसी हुन्थे । बोसो थोरै भएका मासुलाई राम्रो भनिँदैन्थ्यो । बोसो बनाएर खाइन्थ्यो, मिठो हुन्थ्यो तर अहिले के–के जाति रोग छ भन्दै बोसो धेरै भएको मासु खाँदैनन्, काम पनि गर्न सक्दैनन् ।

मासुलाई चुलोको माथि सिल उनेर राखेर खाने गरिन्थ्यो । मासु ठूलो भाडामा पकाउनुपर्थ्यो, अहिले कुकरमै पकाएकाले हुन्छ । 

पदमा

अहिले त ‘खाउँ खाउँ लाउँ लाउँ’ भन्ने उमेरमा नै रोगी हुन्छन् । बोसो मिसाएको मासु खानु हुँदैन भन्छन् । अहिले जहिल्यै दशैं जस्तो लाग्छ लाग्न त । दशैंमा पनि त्यही १–२ किलो ल्याएर खाने हो अरु बेला पनि त्यही हो । अहिलेको दशैं परिवारका सबैसँग भेट हुन्छ, त्यति मात्रै रमाइलो हो । पहिला सबैसँग भेट हुँदैन्थ्यो ।
 
आलोपालो गरेर रातभर गीत, श्लोक गाउँदै चिउरा कुट्थ्यौं । १ घरमा १ मुरी धानको चिउरा ढिकीमा कुट्थ्यौं, रमाइलो हुन्थ्यो । काम गर्दा पनि गलेको अनुभव हुँदैन्थ्यो । अहिले बजारमा जतिसुकै बेला पाइहालिन्छ तर आफैंले घरमा बनाए जस्तो पाइँदैन । त्यही भएर पनि केटाकेटी बिरामी हुन्छन् । बाह्यको खानामा बल गर्छन् । 

हामी सानो छँदा बेलुकाको भात बिहान उठेर जेसँग भेट्यो त्यहीसँग खान्थ्यौं । अहिलेकाले बिस्कुट, चाउचाउ जस्ता खान्छन् । दशैंमा पनि त्यही पहिला खाएकै खानुकराहरू खाने गरेकाले पनि त्यसको महत्त्व घटेको उनले सुनाइन् । 

पदमाको परिवार

घर लिपपोत गर्नका लागि कमेरो, रातो माटो महिना दिन अघिदेखि  तयारी राखिन्थ्यो । खरानीमा पकाएर १/१ वटा मुग्रासहित डोकामा कपडा बोकेर खोलामा छरछिमेकीहरू मिलेर धुन जान्थिन् । बाटो, घर सरसफाइ गर्ने गरेका थियौं । दशैंमा नयाँ कपडा किन्ने भन्ने चलन थियो । नयाँ कपडा लगाउन कुर्नुपर्थ्यो भन्थे, हाम्रोमा भने त्यस्तो हुँदैन्थ्यो । आवश्यक परेको बेला किनिहाल्ने चलन थियो । 

अहिलेको दशैं नै होइन जस्तो लाग्छ । दशैं मान्न भन्दै टाढा–टाढाबाट पाहुना आएर २–४ दिन बसेर जान्थे, छोरी, नन्द, आमाजूहरू हप्ता–दश दिन बस्ने गरी आउनुहुन्थ्यो । अहिले एकैछिनमा गइहाल्छन् । दशैं आउँदा जतासुकै पिङहरू हुन्थे । अहिलेका केटाकेटीहरू पिङभन्दा पनि मोबाइलमा व्यस्त हुन्छन् ।

हामी बसाइ सरेर विराटनगर आएको पनि धेरै वर्ष भयो । गाउँको जस्तो रमाइलो बजारमा नहुने रहेछ । गाउँमा वल्लो घर, पल्लो घर भेला हुने मिठो–मसिनो पकाएको कुरा बाँडेर खाने जस्ता संस्कारहरू  भए पनि त्यस्ता संस्कारको अन्त्य भएको छ ।

उत्तम पोखरेल
उत्तम पोखरेल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्