परम्परा

बिहेको पहिलो दशैंमा ससुराली गाउँभरि कुराउनी बाँड्ने मौलिक संस्कृति !

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

बिहेको पहिलो दशैंमा ससुराली गाउँभरि कुराउनी बाँड्ने मौलिक संस्कृति !

जुन घरमा यसै वर्ष छोराको बिहे भएको छ । त्यो घरमा दशैंमा कुराउनी घोटिन्छ (बनाइन्छ) ।


Advertisement

घरघरमा पुगेर ठूला–ठूला गाग्रीमा दूध उठाएर दूधबाट बन्ने परिकार कुराउनी ठूलो भाँडामा पकाइन्छ । कुराउनी गाउँमै उत्पादन हुने सबैभन्दा मिठो परिकारको रूपमा लिइन्छ ।


Advertisement

अझै धेरै ठाउँमा त गाउँलेहरूले आफैं दूध ल्याइदिएर घरमै आइपुग्छन् । दूध किन्नु पर्दैन । सबैले स्वतस्फूर्त (बिहान वा बेलुकाको सबै दूध) दिने चलन छ । घरको आँगनमा ठूला–ठूला ताउला र डेक्चीमा कुराउनी घोट्न युवा, पाका पुस्ताहरू उत्साहका साथ जुट्छन् । यो संस्कृति गुल्मी, अर्घाखाँची, प्युठान, बागलुङ, स्याङ्जा र पाल्पासँग जोडिएको छ । 

८/९ पाथी बनाएर दशैंमा ससुराली जाँदा भरिया लगाएर कुराउनी र केरा लैजाने यस क्षेत्रको पुरानो चलन हो । ससुरालीको आर्थिक हैसियत राम्रो भएकाहरूले केरा, कुराउनीको साथमा खसी समेत लैजान्छन् तर पछिल्लो समय बसाइँसराइँ र शहरी संस्कारले गर्दा यो चलन संकटतर्फ धकेलिएको छ । 


Advertisement

संस्कृतिका जानकार युवराज कंडेलले बिहे गरेर पहिलो पटक दशैंमा केरा कुराउनी लैजाने संस्कृति कालिगण्डकी सेरोफेरोमा रहेको बताउँछन् । ‘गाउँमा पहिले–पहिले पशुपालन धेरै राम्रो थियो । प्रशस्त दूध हुन्थ्यो । गाउँमा मिठो फल केरा पनि राम्रै उत्पादन हुन्थ्यो । पहिलो दशैंमा मिठो खानेकुरा के लैजाने भन्दा केरा कुराउनी नै पर्थ्यो । त्यही अनुसार यो संस्कार शुरू भएको मानिन्छ,’ कंडेलले लोकान्तरसँग भने । 

कंडेल थप्छन्, ‘अहिले गाउँमा पशुपालन पनि छैन । गाउँमा त्यहीँ हुँदा अहिले केरा कुराउनीको ठाउँमा बजारका मिठाइ र स्याउले ठाउँ ओगटे । यो संस्कार लोप हुनेतर्फ गएको छ ।’

ससुरालीले केरा कुराउनी लगेबापत पैसा दिने चलन छ । माइतीले त्यो कुराउनी र केरा आफन्त, छरछिमेक र गाउँलेलाई बाँडेर खान्छन् । गाउँले पनि केरा कुराउनी खाएबापत थोरै भए पनि पैसा दिन्छन् । 

संस्कृतिविद् डा. जंगमान गुरूङले नाता जोडेको घरमा मिठो परिकार कुराउनी सम्मान स्वरूप लैजाने संस्कृति रहेको बताए । ‘ब्राह्मण समुदायमा केरा कुराउनी लैजान्छन्,’ संस्कृतिविद् गुरूङले लोकान्तरसँग भने, ‘मगर, गुरुङ समुदायमा भने सुँगुर, पूर्वतिर कुखुराको भाले लैजाने चलन छ । नयाँ छोरीज्वाइँ खाली हात माइती/ससुराली जानु हुँदैन भनेर यो सभ्यता कालिगण्डकी सेरोफेरोमा पाइन्छ । त्यो बेलामा गाउँमा छुट्टै अनुभूति हुन्छ ।’ 

अहिले बसाइँसराइँले गाउँ खाली जस्तै हुन थालेका छन् । गाउँमा वृद्धवृद्धा मात्र देखिन्छन्, युवा विदेश जान्छन् । तिनका परिवारले बालबच्चालाई राम्रो शिक्षाको नाममा शहर झार्न थालेका छन् । शहर झरेपछि विदेशबाट कमाएको पैसाले सानो टुक्रा घडेरी किनेपछि मानिसहरू गाउँ फर्किन छाडेका छन् । जसले गर्दा गाउँमा खेतीपाती र पशुपालन अहिले छैन भन्दा पनि हुन्छ । खेतीयोग्य जमिन अहिले बन्जर परेको छ ।

बाग्लुङका स्थानीय लक्ष्मीधर ढुंगानाले बसाइँसराइँले गाउँमा संस्कृति नै संकटमा परेको बताए । ‘अहिले दशैंमा पनि गाउँमा आउन छाड्दा ग्रामीण संस्कृति लोप नै हुनेतर्फ पुगेको छ । कुराउनीमा पनि बजारको चिनी र बिस्कुट हाल्छन् रे ! गाउँको मौलिक चिज कहाँ पाउनु अहिले ?’

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्