
मकवानपुरको हेटौंडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति नारायणगढबाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा–१५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस