काठमाडौं, ६ असार –नेपालको पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रालिले पेमेन्ट गेटवे सेवा प्रदायकको लाईसेन्स् प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्रबैंकले लाइसेन्स् प्रदान गरेको हो ।
राष्ट्रबैंकले इसेवालाई राष्ट्रबैंक भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले बमोजिम जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट (ग्राहक र सेवाप्रदायकको बिचमा मध्यस्तता गरी भुृक्तानी गरिदिने र स्वदेशमा गरिने मनि ट्रान्स्फर गर्ने) कार्य गर्न भुक्तानी तथा फछर्यौट अनुमति नीति २०७३ बमोजिम लाइसेन्स् प्रदान गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले लाइसेन्स पाएपछि थप व्यवस्थित र जिम्मेवार तरिकाले इसेवालाई विकास गर्ने र क्यासलेस कारोबार बनाउने राष्ट्र बैंकको नीतिलाई सफल बनाउन भूमिका खेल्ने बताए ।
विगत सात वर्षदेखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको बताएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर २५ हजार बढि जोन पोइन्ट रहेका कम्पनीले जनाएको छ । राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेसँगै मुलुकभित्र रेमिट्यान्स् कारोबार समेत सुरू गर्ने तयारी गरेको कार्यकारी अधिकृत अलीले बताए ।
इसेवा मार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स्, बस टिकट, मुभी टिकट खरिद जस्ता सय भन्दा बढी सुविधा लिन सकिन्छ ।