
सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
सप्तरी, सुरुङ्गा नगरपालिका-३ कर्हवा चोकमा प्र.३-०२-०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-२ हदिया बस्ने ७० वर्षीय रामेश्वर चौधरीको शनिवार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ लादेस्थित सडकमा प्रदेश ०२-००१ ख ०१६६ नम्बरको गाडी अनियन्त्रित भई भित्तामा ठोकिएर शनिवार दिउँसो दुर्घटना हुँदा दैलेख नारायण नगरपालिका-११ बस्ने १८ वर्षीय सुशिल रावत लगायत २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ९ जनामध्ये ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, टीकापुर नगरपालिका-५ पार्करोडस्थित सकडमा से.६ प १९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर शनिवार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही नगरपालिका-१ गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय केशव मगर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका सुन्दरको टीकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो भने केशवको सोही अस्पताल हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने आशीष मगरको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-२ जुडीस्थित सडकमा बा.४८ प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएर शनिवार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दिपलाल महरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय लालबाबु पासवानको सोही हेल्थ केयरमा उपचार भइरहेको छ ।
मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-२ लामिबगरस्थित सडकमा ना १ ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करीब २०० मिटर तल खोल्सामा खसेर शनिवार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा काठमाडौं महानगरपालिका-१६ गोदावरी बस्ने ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोविन्दपुर बस्ने ५० वर्षीय रामसनही राम रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सुमो चालकसहित ४ जनालाई हेटौंडास्थित सन्चो अस्पताल र ४ जनालाई स्टार अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।
कास्की, पोखरा महानगरपालिका-२६ सुन्दरी बजारमा ग.१२ प ४०३२ नम्बरको मोटरसाइकल र ग.१ ज ६८७८ नम्बरको पिकअप भ्यान एक आपसमा ठक्कर खाएर शनिवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मादी गाउँपालिका-५ मिजुरेडाँडा बस्ने ४५ वर्षीय सूर्यबहादुर क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लेखनाथ सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सन्दीप केसीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको र अवस्था गम्भीर रहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, खजुरा गाउँपालिका-३ धौलागिरीस्थित सडकमा भे.१ ह ७०२ नम्बरको अटो शनिवार बिहान दुर्घटना हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका-४ गाउँ बस्ने ४५ वर्षीया प्रेम कला सुनारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।