
लमजुङ र मनाङ जोड्ने एकमात्र बेंसीशहर चामे सडक अविरल वर्षासँगै आएको पहिराले विभिन्न स्थानमा अवरुद्ध हुँदा सवारीसाधन आगमन ठप्प भएको छ ।
सोमवारदेखि परेको अविरल वर्षाले मंगलवार सडकको नियाँलो, खोत्रो, दाना क्यूलगायत विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको डुम्रे बेंसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर सुरज महर्जनले बताए ।
उनले भने, ‘नियाँलो भन्ने ठाउँमा सडक नै बगाएको छ । खोत्रोमा सडक माथिबाट आएका पहिराले अवरुद्ध बनाएको छ भने दाना क्युमासमेत सडक बगाएको छ ।’
खरखरे भीर, रामबजार, घोप्टेभीरलगायत स्थानमा सानासाना पहिरा खसिरहेका छन् । विभिन्न ठाउँमा पहिरोले अवरुद्ध बनाएकाले कुन ठाउँमा कति क्षति बनाएको भनेर सबै स्थानमा पुग्न नसकेको उनको भनाइ छ ।
पानी निरन्तर परिरहेकाले अवरुद्ध सडक खुलाउन अप्ठ्यारो भएको छ । सडक अवरुद्ध हुँदा सवारी आवागमनमा बाधा पुगेको छ भने आन्तरिक तथा बाह्य पर्यटक समेत अलपत्र परेका छन् ।
यसअघि असार १ गते आएको बाढीपहिरोले दशैंअघि मात्रै सवारीसाधन सञ्चालनमा आएको थियो । सवारीसाधन सञ्चालनमा आएको हप्ता १० दिनमै पुनः सडक अवरुद्ध हुँदा यात्रुहरू बढी मर्कामा परेका छन् ।
सडकमा बर्सेनि बर्खायाम र वर्षा भएका बेलामा पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।