
लगातारको वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरी भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ ।
सुनसरी खोला सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो ।
बाढीले सबस्टेसनको कम्पाउण्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरू डुबेको विद्युत् प्राधिकरणले जनाएको छ ।
बाढीले केही उपकरणहरू बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिए । 
‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकाले क्षति पुर्याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यहाँ रहेका कर्मचारी र श्रमिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ ।’
४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरू निर्माणस्थलमा ल्याइसकिएको थियो ।
बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरूमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
