
नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा र पालिका अधिवेशन कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन् ।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राखिन् ।
बुधवार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताएकी हुन् ।
‘वडा, पालिकाको अधिवेशन भनेको केन्द्रीय कमिटीको महाधिवेशनभन्दा पनि महत्त्वपूर्ण छ भन्ने मैले ठानेको छु । किन भन्दाखेरी यो हाम्रो आधार हो, हाम्रो धरातल हो,’ उनले भनिन्, ‘वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो । हाम्रो पाइला कस्तो ठाउँमा राख्ने ? कहाँ राख्दाखेरी बलियो हुन्छ ? भन्ने कुराहरू सोच्ने बेला आएको छ ।’
यस्तै उनले वडा र पालिका अधिवेशनमा समूहगत स्वार्थ छिर्न नहुने बताइन् । उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यकता रहेको औंल्याइन् ।