
बाढी प्रभावितहरूको लागि राहत घोषणालगायत विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो बैठक बसेको हो ।
मन्त्रिपरिषद्को बैठक अघि विपद् व्यवस्थापन समितिको बैठक सिंहदरबारमा बसेको थियो ।
सो समितिको सिफारिसका आधारमा सरकारले केही राहत घोषणा गर्ने सम्भावना छ । मनसुन सकिएपछिको अविरल वर्षा र बाढीका कारण देशभर ४८ जनाको मृत्यु भएको छ भने केही बेपत्ता छन् ।
प्रमुख खाद्यान्न बाली धान भित्र्याउने समयमा परेको वर्षाले तराईका जिल्लामा भित्र्याउन लागेको धानमा ठूलो क्षति गरेको छ ।
मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीवार सुदूरपश्चिमका जिल्लामा जाने तयारी गरेका स्रोतले बतायो ।