
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिमा दलीय एकता बनेर अघि बढ्नुपर्ने बताएका छन् । देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उनले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिए ।
नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले आज कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखे ।
जिल्लाको दक्षिणी बाढीग्रस्त क्षेत्रको अवलोकन तथा बाढीपीडितसँग भेटघाट गरेका उनले बाढी, पहिराबाट ज्यान गुमाएका तथा उठिबास भएका परिवारलाई पुनःस्थापना गरी राहत दिन सरकारले थप व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।