चितवन, ७ असार– गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन् ।
प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले आफ्नो साधन स्रोत र शक्ति परिचालन गरेर समग्र सुरक्षाको व्यवस्था मिलाएको बताए ।
अर्को प्रसङ्गमा उनले असन्तुष्ट भएका राजनीतिक दलसँग पनि वार्ता र संवाद गरेर सहमतिमा निर्वाचनको मिति तय भएकाले निर्वाचनको वातावरण बनेको बताए । ‘निर्वाचनको राम्रो वातावरण बनेको छ । निर्वाचनको खारेजी गर्न माग गर्दै आएको नेकपा विप्लव समूहले पनि विभिन्न ठाउँमा उम्मेदवारी दिएको छ,’ उनले भने ।
टीकापुर घटनाका दोषीलाई क्षतिपूर्ति किन दिइएको भन्ने प्रश्नमा उनले घटना गराउने र दोषीलाई कारबाही गर्ने एउटा पाटो तथा भौतिक क्षति फरक पाटो भएको बताए । उनले भने, ‘सरकारले सबैलाई न्याय गर्छ, अपराध गर्नेलाई कारबाही र क्षति हुनेलाई क्षतिपूर्ति दिन्छ ।’
सरकारले कहिल्यै प्रहरीको मनोबल नघटाउने बताउँदै उहाँले संविधान, कानुन, सरकारका नीति कार्यक्रम लागु गर्नका लागि सरकारमार्फतका समग्र संयन्त्रलाई परिचालन गरिने जानकारी दिए । उनले भने, ‘त्यसमध्येको महत्वपूर्ण सङ्गठन प्रहरी सङ्गठन हो । यसको मनोबल गिराउने काम सरकारले गर्दैन, उच्च मनोबल बनाउँछ ।’
निर्वाचनको आचारसंहिताको उल्लङ्घन गर्दै दुई दिनअघि चुनाव प्रचार कार्यक्रममा बोलेका विषयमा सोधिएको प्रश्नमा उनले आचारसंहिता निर्वाचन आयोगले तय गर्ने हो भन्दै आफूले आचारसंहिताभित्रै रहेर काम गरेको जिकिर गरे ।
यसअघि जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १७३ औँ समूहको दीक्षान्त समारोहमा उनले प्रहरीमा राजनीतिक गन्ध, गुटबन्दी र विभाजन राज्यलाई स्वीकार्य नहुने भन्दै त्यसो भएमा सरकारले कारबाही गर्ने चेतावनी दिए । उनले ‘चेन अफ कमान्ड’भित्र आफूलाई सक्षम साबित गर्न निर्देशन पनि दिए । नीति, नियम र कार्यविधि बनाएर वृत्ति विकासका काम अगाडि बढाइने जानकारी उनले गराए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संविधान कार्यान्वनको ऐतिहासिक घडीमा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी सहायक निरीक्षकलाई देश र जनताप्रति समर्पित भएर काम गर्न निर्देशन दिए ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीले तालिम केन्द्रमा स्थापित एनपिए इन्टरनेट, राष्ट्रिय प्रहरी प्रतिष्ठान इ–लाइब्रेरीका बारेमा जानकारी गराएका थिए । सोको गृहमन्त्री शर्माले आजै उद्घाटन गरेका थिए ।
समारोहमा शिक्षालयका समादेशक प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । तालिमबाट १५० प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् ।