काठमाडौं, ७ असार –पतञ्जली आयुर्वेद केन्द्रले उत्पादन गरि नेपालमा विक्री वितरण भइरहेका आधा दर्जन औषधि न्यून गुणस्तरको पाइएको छ ।
न्यून गुणस्तरको पाइएपछि पतञ्जलीका ती औषधिसहित सात प्रकारका भारतीय औषधि विक्री वितरणमा औषधि व्यवस्था विभागले रोक लगाएको हो ।
न्यून गुणस्तरका पाइएपछि ती औषधि बजारबाट फिर्ता (रिकल) गर्नसमेत विभागले निर्देशन दिएको छ ।
विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीका अनुसार, ती औषधिमा शूक्ष्म जिवाणु (माईक्रो अर्गानिक) को मात्रा बढी देखिएको छ ।
रोक लगाइएका पतञ्जलीको औषधिमा माइक्रोवायल टेष्ट फेल भएको र अर्को एक कम्पनीको एक औषधिको आइडेन्टीफिकेसन टेष्ट नै फेल देखिएको छ । त्यस्ता औषधिले स्वास्थ्यमा नराम्रो असर गर्ने विभागले जनाएका छ ।
कुन–कुन औषधिमा लाग्यो प्रतिवन्धप्रतिवन्ध लगाइएका पतञ्जलीका औषधिहरुमा अम्ला चुर्ना, दिब्या गशार चुर्ना, बकुची चुर्ना, त्रिफला चुर्ना, अश्वागन्धा चुर्ना र अदिव्या चुर्ना छन् । त्यस्तै, अर्को एक भारतीय औषधि कम्पनी माईक्रोल्याब लिमिटेड, याङ्कल तालुकको ब्याक्टोक्ल्याभ औषधिलाई पनि विभागले प्रतिबन्ध लगाएको छ ।
औषधि व्यवस्थापक क्षेत्रीका अनुसार, नेपालमा पतञ्जलीका १ सय १० प्रकारका औषधि विक्री वितरणका लागि स्वीकृति दिइएको छ ।