काठमाडौं, ७ असार– विश्व योग दिवसका अवसरमा कालिमाटीमा रहेको काठमाडौं इन्जिनियरिङ कलेजमा एक विशेष कार्यक्रम आयोजना गरी योग दिवस मनाइएको छ ।

कार्यक्रममा इन्जिनियर एवं आईटी विशेषज्ञ अनन्त रिसालले नेपाल साधनाभूमि, देवभूमि र अध्यात्मभूमि भएको चर्चा गर्दै योगले आत्मा र परमात्मालाई जोड्ने बताए ।
पूर्वीय सभ्यतामा रहेको योगलाई आफूहरुले अमेरिकामा पनि फैलाउन थालेको चर्चा गर्दै उनले योग, ध्यान र प्राणायामहरुले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई राम्रो बनाउने बताए । हरेक दिन कम्तीमा बिहान, दिउँसो र बेलुका २० मिनेट मात्रै भए पनि योग गर्न आग्रह गर्दै रिसालले योग कुनै धर्म वा सम्प्रदायको निजी सम्पत्ति नभई यो मानवमात्रको सम्पत्ति भएको प्रस्ट पारे ।
योगमा सिद्धान्तको भूमिका मात्र एक प्रतिशत र प्रयोगको भूमिका ९९ प्रतिशत हुने भन्दै उनले नियमित योग गर्न सवैमा आग्रह गरे ।
इन्जिनियरिङ कलेजका प्रिन्सिपल चाँदशमशेर राणाले कलेजमा दश वर्षअघिदेखि योगसाधना शुरु भएको जानकारी दिँदै दश वर्षअघि रोपिएको योगको बिरुवाले अहिले फल्ने अवसर पाएको बताए ।
योगको बिरुवा रोप्नेदेखि फलाउने कार्यमा समेत अनवरत रुपमा साधनारत योगशिक्षक शान्त खरेलको योगदानको प्रशंसा गर्दै प्रिन्सिपल राणाले कलेजका अध्यक्ष हीरेन्द्रमान प्रधानले योगकक्षा राख्ने वातावरण मिलाएको भन्दै प्रशंसा गरे ।
कलेजका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका सदस्य प्रा. हीरेन्द्रमान प्रधानले योग गर्दा अरु कसैलाई फाइदा हुने नभई व्यक्ति आफैंलाई मात्र फाइदा हुने बताउनुभयो । नियमित योग अभ्यासले अध्ययनकार्यमा एकग्रता र स्मरण शक्ति पनि वृद्धि गर्ने भएकाले इन्जिनियरिङका विद्यार्थीले त योगको अभ्यास झनै गर्नुपर्नेमा जोड दिए ।
इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको शारीरिक र मनोवैज्ञानिक समस्याहरु समाधान होओस् भन्ने उद्देश्यले नै कलेजमा योग प्रारम्भ गरेको बताउँदै वर्तमानमा विश्वले योगको महत्व बुझेरै यसबाट फाइदा लिइरहेको कुरा विश्व योग दिवस मनाउन शुरु गरिएबाट प्रमाणित भएको बताउनुभयो ।
कार्यक्रममा योगशिक्षक शान्त खरेलले दश वर्षअघिको अनुभव सुनाउँदै कहिले हलमा दिनभरि एक्लै बसेर र कहिले सीमित विद्यार्थीलाई सिकाएर घर फर्कनुपरेको अनुभव सुनाउँदै आज धेरै विद्यार्थीले बुझ्दै जाँदा हरेक दिन योग कक्षाका बेला हल खचाखच हुने गरेको बताइन् । शारीरिक र मानसिक समस्या भएका धेरै विद्यार्थीले योगबाट नयाँ जीवन प्राप्त गरेको अनुभव सुनाउँदै उनले दश वर्षको अवधिमा करिब चार हजार इन्जिनियरिङका विद्यार्थीलाई आफूले योग अभ्यास गराएको जानकारी दिइन् ।
केईसी योग क्लबका संयोजक मदन न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा एक वर्षसम्म नियमित योग अभ्यास गरेका ८६ जना विद्यार्थीलाई विशेष धन्यवादस्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रमका अतिथि अनन्त रिसाललाई पनि ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।
झन्डै पाँच हजार वर्ष पुरानो योग विज्ञानलाई सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घमा जुन २१ तारिखको दिनलाई विश्व योग दिवसका रुपमा मनाउन गरेको प्रस्ताव अनुमोदन भएपछि हरेक वर्ष नेपालमा पनि योग दिवस मनाइँदै आएको छ ।