
सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ ।
धनगढीलाई बेस बनाएर जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ ।
धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए । धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम भएको छ ।