२६ जेठ २०८३, मंगलबार

किन रोकियो प्रदेश १ को संसद् बैठक ? यस्तो छ भित्री कारण

कात्तिक ७, २०७८
किन रोकियो प्रदेश १ को संसद् बैठक ? यस्तो छ भित्री कारण
फाइल तस्वीर।

प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसको अडान थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकार नेतृत्व नेकपा (एस)लाई सुम्पिए । 

कांग्रेसकै शेखर कोइराला खेमाका नेताहरू भने यो निर्णयको विरोधमा थिए । विराटनगर आएका बेला पनि नेता शेखर कोइरालाले दुई वटा प्रदेशमध्ये एउटामा कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने बताएका थिए । 

प्रदेश १ मा कांग्रेसका २१ जना सांसद छन् । यीमध्ये ७–८ जना मात्रै देउवा पक्षका छन् ।  अन्य सांसद कोइराला पक्षका हुन् । देउवाको निर्णयपछि कोइराला खेमाका सांसदहरू आक्रोशित बनेका थिए । 

ती आक्रोशित सांसदहरूले आजको संसद् बैठकमा ‘फ्लोरक्रस’ गर्न सक्ने सम्भावना थियो । तर, केन्द्रमा देउवा नेतृत्वको वर्चश्व भएकाले ‘फ्लोरक्रस’ गर्ने सांसदहरूलाई पदबाटै हटाउन सक्ने छाँट देखिएपछि कांग्रेस संसदीय दलले आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको एक कांग्रेस सांसदले बताए । 

आज मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनका लागि बैठक बोलाइएको थियो । देउवा पूर्वी नेपालको भ्रमणमा आएको मौका छोप्दै आजको संसद बैठक रोक्न निवेदन दिएको ती कांग्रेस सांसदले बताए । 

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने प्रधानमन्त्री देउवा बाढीपहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न आएकाले बैठक रोक्न निवेदन दिएको बताए । 

यता सत्तापक्षका सांसदहरूले भने सरकारको विरोध गर्ने दलहरूले नै कुरा परिवर्तन गरेर बैठक स्थगन गर्न माग गरेको आरोप लगाएका छन् । 

‘मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा हुनुहुन्थ्यो,’ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘भोलिदेखि नगर गाउँ अधिवेशन तथा स्थायी कमिटीको बैठक भएकाले हामीले पनि कात्तिक १५ गते सम्मका लागि बैठक रोक्न निवेदन दिएका हौँ ।’ 

प्रदेश सभा बैठक कातिक १५ गते सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव शुक्रवार पेश गरेका थिए । आज छलफल र मतदान गर्ने तयारी थियो ।

salt training

कमेन्ट गर्नुहोस्