
हस्तकला व्यापार मेला आगामी मंसिर ३–५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
नेपाल हस्तकला महासंघले विगतका वर्षजस्तै यस वर्ष पनि १८औं हस्तकला व्यापार मेला एवं १६औं हस्तकला प्रतियोगिता होटल ह्यात रिजेन्सी बौद्धमा गर्न लागेको हो ।
महासंघले बिहीवार पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई चलायमान बनाउन मेला आयोजना गर्न लागेको जानकारी दिएको छ ।
सम्मेलनमा महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले मेलामा नेपाली हस्तकलाका १२० कक्ष रहने जानकारी दिए । उनले नेपाली हस्तकलालगायत अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्न मेला आयोजना गरिएको बताए ।
मेलामा ज्येष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।