
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५औं वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित विद्युतीय सवारी र्यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै २ अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा ४० अर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गरिन् ।
बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।
उनले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युत्को खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राखे । मन्त्री भुसालले विद्युतीय सवारीसाधनको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनुपर्ने बताइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव सागर राईले विद्युतीय सवारी वातावरणमैत्री, यात्रुका लागि सहज र विद्युत्को खपत बढाउने क्षेत्र भएकाले यसको प्रवद्र्धनमा सरकार, निजी क्षेत्र र सर्वसाधारणले विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने खाँचो औंल्याए । केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवद्र्धनमा जोड दिँदै आएको केन्द्रले विद्युतीय सवारीको बारेमा सर्वसाधारणलाई जानकारी र नीतिनिर्माताहरूलाई पनि प्रविधिबारे अवगत गराउन र्यालीको आयोजना गरेको जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै ४००/५०० मेगावाट विद्युत् खेर गइरहेको र आगामी दिनमा यो परिणाम अझ बढ्ने निश्चित रहेकाले विद्युत्को खपत बढाउन विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण भइरहेको उल्लेख गरे ।
ललितपुरको जावलाखेलबाट शुरू भएको र्याली काठमाडौंका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर विसर्जन भएको थियो ।
र्यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झण्डै ३०० संख्यामा सहभागिता थियो ।