
राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।
‘गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ, जनताको खुशी नै हाम्रो खुशी हो,’ उनले भने ।
आज लुम्बिनी पुगेका राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै भनिन्, ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्नसक्दा नै मानवकल्याण हुनेछ ।’
उनले राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुनुहुँदैन भन्दै लुम्बिनीजस्तो पवित्रस्थल सबैको प्राथमिकतामा रहनुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने धारणा पनि राखे ।