
सर्वोच्च अदालतमा सोमवार बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमवार बन्दीप्रत्यक्षीकरणका ६ इजलास तोकेका छन् । त्यसमा ४ संयुक्त र २ एकल इजलास रहेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि सोमवार बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेशी तोकेका छन् । उनका अनुसार अब केहीबेरमा सुनुवाइ शुरू हुन्छ ।
गत आइतवार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए ।
गत सोमवारदेखि नै मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ । मुद्दाको सुनुवाइ प्रभावित भएको सोमवार १ हप्ता भएको छ ।
सर्वोच्च अदालतको गत सोमवार पूर्ण बैठक (फुलकोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि बैठक बस्न सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानून बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।
सोमवार प्रधानन्यायाधीश र न्यायाधीशबीच छलफल गर्ने तय भएको छ ।
अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।