२६ जेठ २०८३, मंगलबार

लोकान्तर समाचार प्रभाव : २३ नम्बर रुटका चालकलाई ट्राफिक प्रहरीबाट तालिम

कात्तिक १५, २०७८
लोकान्तर समाचार प्रभाव : २३ नम्बर रुटका चालकलाई ट्राफिक प्रहरीबाट तालिम

राजधानी काठमाडौं उपत्यकाका सार्वजनिक यातायातका चालक र सहचालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुप्रति गर्ने आरचण र व्यवहारबारे तालिम दिएको छ । 

लोकान्तर डट्कमले १२ गते ‘राजधानीको २३ नम्बर रुटमा अप्रिय भोगाइ : छिनछिनमै यात्रुमाथि अपशब्द १’ शीर्षकमा छापेपछि ट्राफिक महाशाखाले सोमवारदेखि चालक र सहचालकलाई विशेष कक्षा सञ्चालन गरेर पहिलो दिन २३ नम्बर रुटका ४५ जना चालक र सहचालकलाई यात्रुप्रति गर्ने व्यवहार कसरी सुधार्ने भन्ने विषयमा तालिम दिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन सोमवार बिहान ८ बजेदेखि ९ बजेसम्म ४५ जना र दोस्रो दिन भोलि मंगलवार ४५ जनालाई तालिम दिन लागिएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीअघि पनि यातायात व्यवस्था विभागको समन्वयमा तालिम कार्यक्रम हुँदै आएको थियो । संक्रमणको समयमा मात्रै रोकिएको र फेरि तिहार र छठपछि निरन्तर रूपमा सञ्चालन हुने महाशाखाले जनाएको छ ।

सोमवारको विशेष कक्षामा सहभागी भएका चालकहरूले फिर्ता दिने पैसाको अभाव भएकाले यात्रुलाई केही दुर्व्यवहार भएको स्वीकारेका छन् भने त्यस्ता चालक र सहचालकलाई व्यवसायीले कामबाट निकाल्ने गरेको समेत बताइएको छ ।

‘हामीलाई खुल्ला पैसाको समस्या छ । अहिले २ रुपैयाँको खुल्ला हुँदैन, त्यसलाई कसरी दिने भन्ने समस्या छ,’ कक्षामा सहभागी एक चालकले भने, ‘युवायुवतीले धेरै गाली गर्नुहुन्छ । त्यसलाई हामी सुधार्ने प्रयास गर्छौं ।’

सहभागीहरूले ट्राफिक प्रहरीको कार्यक्रममा आफूहरूले अघिल्लो समयमा पनि यस्ता कक्षा लिएकाले यात्रुसँग गर्ने व्यवहारबारे थाहा भएको तर पछिल्लो समयमा सहचालकका समस्या भएको बताएका महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी भट्टराईका अनुसार ट्राफिक प्रहरीले अघिल्ला वर्षमा यस्ता सचेतनाका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

‘हामीले चालक र सहचालकका आचरणबारे कक्ष सञ्चालन गर्दै आएको थियौं, आगामी दिनमा पनि गर्ने योजनामा छौं,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने ।

महाशाखाले चालू आर्थिक बर्षमा ४ हजार ५२३ जना चालक र सहचालकलाई आचरण व्यवहारको कक्षा दिएको छ भने ४ हजार १५ यात्रुलाई पनि ट्राफिक नियमको कक्षा दिएको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्