संसारको सबभन्दा शक्तिशाली मुलुक अमेरिकामा पनि मानिसहरू भूतप्रेतमा विश्वास गर्छन् ।
अनुसन्धान संस्था यूगोभले हालै एक हजार अमेरिकीहरूमा गरेको सर्वेक्षणमा पाँचमध्ये दुई अमेरिकीलाई भूतको अस्तित्वमा विश्वास रहेको अनि पाँचमध्ये एकले भूत देखेको बताए ।
सर्वेक्षणमा सहभागी ४३ प्रतिशतले भूतप्रेत वा अन्य लोकका जीव कथामा मात्र सीमित नभई वास्तविक भएको बताए । त्यस्तै लगभग ९ प्रतिशतले जोम्बी, वेयरवुल्भ्स र भ्याम्पायरमा पनि विश्वास गर्ने बताए ।
अरू केबाट डराउनुहुन्छ भनी सोधिएको प्रश्नमा धेरैजसोले लाशबाट भने । अन्यले सरकारी भ्रष्टाचार, कोरोनाभाइरस र ठूलो नागरिक विद्रोहबाट डर लाग्ने बताए ।
बोलिङ ग्रीन स्टेट विश्वविद्यालयका समाजशास्त्री टमस मोभेनले बताए, ‘मानिसहरू जिन्दगीका ठूला प्रश्नको जवाफका लागि गैरपरम्परागत कुराको खोजी गरिरहेका हुन्छन् । कपिपय अनुत्तरित कुरालाई उनीहरू भूतप्रेतसँग जोड्छन् । धार्मिक मानिसको तुलनामा नास्तिकहरू भूतप्रेतमा बढी विश्वास गर्छन् ।’