
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर स्थानीय तहले योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।
तनहुँ जिल्ला समन्वय समितिले सोमवार बन्दीपुर गाउँपालिका–५ याम्पामा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्थानीय तहको योजना जनताको आवश्यकतामा केन्द्रित हुनुपर्ने बताए ।
विकास निर्माणका सवालमा सबै राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले विकासका काममा राजनीति गर्न नहुने र समृद्ध तनहुँ बनाउन सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पथ, गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, सरिता गुरुङ, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले १ वर्षको अवधिमा भएका उपलब्धि र कार्यक्रम कार्यान्वयनमा भोग्नुपरेका समस्याबारे वार्षिक समीक्षा गोष्ठीले निष्कर्ष निकाल्ने बताउँदै स्थानीय तहले गरेका राम्रा कामलाई सञ्चारमाध्यमको सहयोगमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।
समीक्षा गोष्ठीमा ब्यास, शुक्लागण्डकी र भीमाद र भानु नगरपालिका तथा घिरिङ, देवघाट, बन्दीपुर, आँबुखैरेनी, ऋषिङ र म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आ–आफ्नो पालिकाको वार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए ।