
जाडोमा शरीरका अन्य अंगका साथै दाँत पनि दुख्ने समस्या आइलाग्छ । यसको पीडाले बच्चादेखि बूढासम्मलाई सताउँछ ।
कहिलेकाहीँ त यसको पीडा असह्य हुन्छ ।
धेरै तातो वा चिसो कुरा खाँदा, दाँतलाई राम्ररी सफा नगर्दा, क्याल्सियमको कमी हुँदा, ब्याक्टेरियाको संक्रमण हुँदा वा दाँतको जरा कमजोर हुँदा दुख्ने समस्या आइलाग्छ ।
यहाँ हामी दाँत दुख्दा आराम दिलाउने घरेलु उपचारका विषयमा चर्चा गर्नेछौं ।
अदुवा
अदुवा काटेर चपाउँदा दाँतको पीडा कम हुन्छ । अदुवाको रस दाँतमा दल्न पनि सक्नुहुन्छ ।
प्याज
प्याजका टुक्रालाई दुखेको दाँतमा केही समयका लागि राखदा पनि पीडा हराउँछ ।
कागती
कागतीको टुक्रालाई दुखेको दाँतमा दलेर एकछिन त्यत्तिकै छोड्नुस् । अनि कुल्ला गर्नुस् । आराम हुन्छ ।
पुदिना
दिनमा तीनपटक पुदिनाका ताजा पातहरू चपाउँदा पनि दाँतको पीडा शान्त हुन्छ ।
ल्वाङ
पीडा भएको ठाउँमा दुईवटा ल्वाङ राख्नुस् । त्यसले पनि पीडा भगाउँछ ।
नूनपानी
तातोपानीमा अलिकति नून राख्नुस् । त्यो पानीलाई केही सेकेन्डका लागि मुखमा राख्नुस् । त्यसले संक्रमणबाट बचाउँछ । अनि दाँतको बीचमा अड्केको खानेकुरा पनि निकाल्छ । नूनपानीले कुल्ला गर्दा दाँतको पीडा र गिजा सुन्निएको समस्या पनि हराउँछ ।