
भरतपुर महानगरपालिकाकी मेयर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहालले ठूला कुरा नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।
चितवनमा आफूले दुई-दुईपटक भोट मागेर प्रचण्डलाई जिताएको र अब त्यस्तो गल्ती नगर्ने भन्ने ओलीको अभिव्यक्तिलाई लक्षित गर्दै रेनुले इतिहासमा दुईपटक माओवादीकै सहयोगमा प्रधानमन्त्री बनेका ओलीले ठूला कुरा गर्न नमिल्ने उल्लेख गरेकी हुन् ।
उनले प्रचण्ड ओलीका लागि भोट माग्न झापा गएका बेला भाइको निधन भएको उल्लेख गर्दै घरमा बुवा भएको भए समयमै अस्पताल लगेर कतै भाइको ज्यान पो जोगिन्थ्यो कि भन्ने कुरा पनि व्यक्त गरेकी छन् ।
यस्तो छ रेणुको स्टाटस :
ओलीलाई भोट माग्न आोलीको क्षेत्रमा ओलीसहित अध्यक्ष क. प्रचण्ड झापा जाँदा घरमा आमा मात्र त्यही पनि पार्किन्सनको बिरामी, भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दु:खद् घटना घट्यो। घरमा परिवारका सदस्य कोही पनि नभएको बेला सबै आ-आफ्नो चुनावी मैदानमा बिरामी आमा मात्र घरमा हुँदा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो। यस्तो परिस्थितिबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको, झन्डै दुईतिहाइको सरकार के ओली एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त। धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त । इतिहासमा दुईपटक प्रधानमन्त्री माओवादीकै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला ।