
१ नम्बर प्रदेशका राजीनामा दिइसकेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले सरकारी निवास (क्वार्टर) नछाडेपछि नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई होटलमा बस्न थालेका छन् ।
मंगलवार मुख्यमन्त्री भएका राई बिग होटल विराटनगरमा बसिरहेका छन् । आचार्यले कात्तिक १५ गते संसदमा सम्बोधन गर्दै राजीनामा दिएका थिए ।
आचार्यले राजीनामा दिएपछि राई मंगलवार मुख्यमन्त्री बनेका हुन् ।
शेरधन राई मुख्यमन्त्री बनेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विराटनगरमा निवास लिएको थियो । राईले गत भदौ १० गते राजीनामा दिए पनि क्वार्टर छाडेनन् ।
राईले क्वार्टर प्रयोग गर्दै आएको घर आचार्यलाई नदिने बताए पछि मुख्यमन्त्री कार्यालयले राईले प्रयोग गर्दै आएका घरायसी सामग्री फिर्ता ल्याइएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए । पहिला प्रयोग गर्दै आएको क्वार्टरमा राई आफैं बस्दै आएका छन् ।
तत्काल क्वार्टर उपलब्ध नभए पछि आचार्यलाई नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेस्ट हाउसमा राखिएको थियो । आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिए पनि गेस्ट हाउस नछाडे पछि नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई होटलमा बस्न थालेका छन् ।
आचार्यका भाइको निधन भएकाले घरमा लक्ष्मी पूजा गर्न नमिल्ने र क्वार्टरमा पूजा गरेर मात्रै छाड्ने तयारी रहेको स्रोतले जनाएको छ । निवर्तमान मुख्यमन्त्री आचार्यले बिहीवार मात्रै क्वार्टर छाड्ने आचार्यका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले बताए ।
यता, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख सतेन्द्र तिमल्सिनाले गेस्टरूम नेपाली सेनाको सुरक्षाभित्र भएकाले भीआईपी आउँदा २–४ दिनका लागि दिने गरिएको बताए । उनले गेस्टरूम भए पनि अहिले क्वार्टर जस्तै भएको बताए ।