
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएका छन् ।
बुधवार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब हुने स्थानीय तह, प्रदेश र संघको निर्वाचमा नेपाली कांग्रेसको बहुमत आउने छ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ ।’
अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी थियो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति पुगेका क्षेत्रहरूको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताए ।
सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गरे । उनले भने, ‘पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।’
उनले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई बुधवारैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गरे । उनले भने, ‘पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारीसँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।’
डा. महतले हाल देशको सर्वाेच्च अदालतमा देखिएको विवाद अदालत आफैंले समाधन गरोस् भन्ने आफूले चाहेको बताए । उनले भने, ‘अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ । यो न्यायालयको विवादको त्यहीँ सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौं ।’
उनले केपी शर्मा ओलीको नेतृत्वको सरकारले ताप्लेजुङको विकासमा महत्त्व नदिएको आरोप पनि लगाए । पाथीभरालाई धार्मिक पर्यटकका रूपमा विकास गर्नु आवश्यक रहेको समेत उनले बताए ।
तमोर कोरिडोरलाई सरकारले प्राथमिकतामा राखेर विकास गर्न आवश्यक रहेको पनि उनले बताए ।