
पर्सा जिल्लाको बोर्डर आउट पोस्ट (बीओपी) भिश्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण पौडेलले स्थानीय तस्करसँग मिलेर हप्ता असुली लागेको उजुरी परेको छ ।
सशस्त्रका इन्स्पेक्टर पौडेलले स्थानीय तस्कर रञ्जित साहलाई कार्तिक ११ गते बेलुका १० ट्याक्टर सुपारी र कबाडीका सामान तस्करी र सीमा नाका पार गराउन सहयोग गरेको भन्दै उजुरी परेको हो ।
सशस्त्र प्रहरी स्रोतका अनुसार उनीमाथि परेको उजुरीमा हप्तामा ४ लाख रुपैयाँ दिने शर्तमा तस्कर रञ्जित साहलाई लाइन खुलाइदिएको उल्लेख छ ।
त्यो दिन स्थानीय गुडगाउँ उरिया नदीको छेउबाट राति सामान तस्करी गरेको उजुरीमा उल्लेख छ ।
यसभन्दा अगाडि पनि उनले नेपालबाट भारततर्फ २० बोरा छोकडा तस्कर गर्दै गर्दा तत्कालीन डीआईजी चन्द्रप्रकाश गौतमको टोलीले बरामद गरेको थियो ।
त्यसमा पनि इन्स्पेक्टर पौडेलले तस्करीको लाइन मिलाएको भन्दै उजुरी परेको थियो ।
त्यसपछि पहिलोपटकमा डीआईजी गौतमले सम्झाइबुझाइ पठाएको थिए । फेरि पनि उनी तस्करीमा संलग्न रहेको उजुरी परेको हो ।
त्यो समयमा बीओपीमा तस्करसँग सेटिङ गरेको भन्दै डीआईजी गौतमले धेरैलाई कारवाही गरेका थिए ।
नम्बर २ छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमाण्डमा छानविन समिति समेत बनेको थियो । त्यो छानबिन समितिले मिलामतोमा उनलाई उन्मुक्ति दिएको सशस्त्र प्रहरी स्रोतको दाबी छ।
छानबिन समितिले सशस्त्र प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति अहिले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा छन् ।