२९ जेठ २०८३, शुक्रबार

विवेकशील साझामा रवीन्द्र मिश्र पक्षको निर्णयलाई निर्वाचन आयोगबाट मान्यता प्राप्त

कात्तिक १८, २०७८
विवेकशील साझामा रवीन्द्र मिश्र पक्षको निर्णयलाई निर्वाचन आयोगबाट मान्यता प्राप्त

निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गराएको निर्णयलाई मान्यता दिएको छ ।

पार्टीको विधान संशोधन र केन्द्रीय समितिमा हेरफेर गरिएको निर्णय निर्वाचन आयोगले अद्यावधिक गरेपछि मान्यता पाएको हो ।

पार्टीका संयोजक मिलन पाण्डे पक्षले भने बैठकलाई अवैधानिक भन्दै आएको छ । तर आयोगले मान्यता दिएपछि मिश्र पक्षका निर्णयले वैधानिकता पाएको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गर्दै निर्णयले मान्यता पाएको जनाएका छन् । ‘गत कात्तिक ११ गते अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले अन्य निर्णयहरूका अलावा दुईतिहाइभन्दा बढी मतका साथ पार्टीको नयाँ विधान पारित गरेको थियो । साथै केन्द्रीय समिति सदस्यहरूको संख्या (५ जनाको राजीनामा र १ जनाको देहावसानका कारण) अब १२४ रहेको जानकारी गराएको थियो । यी दुवै विषयबारे निर्वाचन आयोगलाई जानकारी गराई आयोगको रेकर्ड अद्यावधिक गराउन आवश्यक थियो । हामीले निर्वाचन आयोगलाई त्यसै अनुरूप पत्राचार गरेका थियौं । हिजो कात्तिक १७ गते बुधवार निर्वाचन आयोगले कानून बमोजिम ‘विवेकशील साझा पार्टीको विधान २०७८’ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको छ । अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ । साथै केन्द्रीय समितिको कूल सदस्य संख्या १२४ मानिनेछ । अतः अब पार्टीको काम कारबाही अघि बढाउन कुनै कानूनी अवरोध छैन । अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न विनम्र आग्रह गर्नुभएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्