२४ असार २०८३, बुधबार

मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिन्छ : प्रचण्ड

कात्तिक १८, २०७८
मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् ।

बिहीवार नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले नेपाल संंवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताए ।

उनले पार्टीमा जतिसुकै ठूलो पदको भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा स्टेप चाल्ने बताए । उनले भने, ‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको पार्टीको भए पनि हामी कडा स्टेप चाल्नेमा छौं अहिले । तपाईंहरूको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडि बढेका छौं ।’

अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरू माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेका बताए । माओवादीलाई ४ टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड ज्यूँदै रहुञ्जेल माओवादी पार्टी झन् जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले पनि प्रतिक्रान्तिकारीहरू षड्यन्त्रमै छन् । प्रतिक्रियावादीहरू षड्यन्त्रमै छन् । देशीविदेशी प्रतिक्रियावादीहरू कुनै न कुनै रूपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरे पनि नहुने, उनीहरूले तारो बनाए, तपाईहरूलाई थाहा छ, उनीहरूको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व । किनकि पार्टी फुटाउँदा पनि केही सीप लागेन । पार्टी ३ टुक्रा, ४ टुक्रा बनाउँदा पनि प्रचण्ड ज्यूँदै रहँदासम्म त यो आन्दोलन मर्ने रहेनछ, फेरि जागेर आउँदो रहेछ भन्ने अहिले देखियो । त्यसकारण अनेक खालका षड्यन्त्र छन्, टार्गेट चाहिँ बनाउन खोजिएको छ ।’

अध्यक्ष प्रचण्डले केही समयपछि माओवादी पार्टी १ नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे । माओवादी बलियो पार्टी भएन भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्