१४ असार २०८३, आइतबार

एमालेको सरकारले संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाएको थियो : ओली

कात्तिक १९, २०७८
एमालेको सरकारले संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाएको थियो : ओली

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको पूर्ववर्ती सरकारले जन निर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराएको दावी गरेका छन् । 

शुक्रवार नेपाल सम्बत् ११४२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

'ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई शंखधर साख्वाःले ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ,' उनले भनेका छन्,'नेपाल सम्बत् ११४२ को यस सुखद् अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गर्न चाहन्छु ।'

उनले एमाले नेतृत्वको सरकारले नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएको समेत बताएका छन् । 

शुभकामना सन्देशमा उनले भनेका छन्,'राष्ट्रको समृद्धिको यस अभियानमा गरिएका विभिन्न खाले अवरोधलाई सचेततापूर्वक परास्त गर्दै  राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुनेछौं भन्ने विश्वास दिलाउन चाहन्छु ।' 

salt training

कमेन्ट गर्नुहोस्