ताइवानको रक्षा मन्त्रालयले दुई वर्षमा एकपटक प्रकाशन गर्ने प्रतिवेदनमा हालैका वर्षमा कतिजना अमेरिकी सैनिकहरू ताइवान आइपुगेका भनी उल्लेख गरिएको छ ।
एक महिनाअघि अमेरिकी सैनिकहरू ताइवानमा एक वर्षभन्दा अघिदेखि बसिरहेको खुलासा भएपछि यो प्रतिवेदन सार्वजनिक भएको हो ।
विगत दुई वर्षमा मात्र १०० भन्दा बढी प्रशिक्षण कार्यक्रममा भाग लिनका लागि सयौं अमेरिकी सैनिकहरू ताइवान पुगेका छन् । त्यत्तिकै संख्यामा ताइवानी फौजहरू अमेरिका पुगेको ताइवानको नेसनल डिफेन्स रिपोर्टमा उल्लेख छ ।
सन् २०१९ को सेप्टेम्बर महिनादेखि सन् २०२१ को अगस्ट महिनासम्म अमेरिका र ताइवानका लगभग २८ सय सैनिकहरू ३८४ वटा आदानप्रदान कार्यक्रममा सहभागी भए । अमेरिकामा भएका १७५ वटा कार्यक्रममा ५४२ जना ताइवानी सैनिक पुगेका थिए भने ताइवानमा भएका १०७ कार्यक्रममा ६१८ जना अमेरिकी सैनिक पुगेका थिए ।
दुवै पक्षका १६ सय ३९ सैनिकहरू १०२ वटा अन्य कार्यक्रममा सहभागी भएको पनि उल्लेख छ तर ती कार्यक्रम कहाँ भएको भन्ने स्पष्ट छैन ।
सोमवार फरेन पोलिसी पत्रिकाले पाएको पेन्टागनको कर्मचारी सूचीमा अमेरिकी सैनिकहरू ताइवानमा सन् २००८ देखि बसिरहेको पाइएको छ । उनीहरूको संख्या सानो छ तर उनीहरू त्यहाँ हुनु नै चीनका लागि आपत्तिजनक कुरा हो ।
चीनले ताइवानमा आक्रमण गर्न सक्ने परिस्थितिमा त्यसको प्रतिकारका लागि अमेरिकी सैनिकहरूले ताइवानी सैनिकहरूलाई प्रशिक्षित गरिरहेको बताइएको छ ।