
झापा जिल्लाको बिर्तामोडमा बिहीवारदेखि राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन २०७८ आयोजना हुँदैछ ।
जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा सनातन वैदिक हिन्दू, बौद्ध, किरात, बोन, जैन, शिख, प्रकृतिपूजक लगायत नेपालका मौलिक धार्मिक सम्प्रदायहरूको समन्वय, सामञ्जस्य र सहृदयताको सम्बन्ध निर्माण गर्ने उद्देश्यले विक्रम संवत् २०७४ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आयोजना हुँदै आएको छ ।
सम्मेलन अघिल्ला वर्षहरूमा काठमाडौंमा आयोजित हुँदै आएकोमा यो वर्षको कार्यक्रम पहिलोपटक मोफसलमा आयोजना गरिएको प्रतिष्ठानका कार्यबाहक अध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए ।
सम्मेलनको उद्घाटन नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराज र जरोकिलो महाअभियानका संकल्पकर्ता डा. निर्मलमणि अधिकारीद्वारा हुनेछ ।
सम्मेलनमा नेपालका मौलिक धार्मिक सम्प्रदाय सम्बद्ध गुरु, लामा, अध्येता, अभियानकर्ता आदिको उपस्थिति रहने जनाइएको छ ।
यस पटकको राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन जरो किलो प्रतिष्ठान नेपाल, राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल र सनातन धर्म महासंघ नेपालको आयोजनामा हुँदैछ । सहआयोजकको रूपमा सहृदयता समाज नेपाल र युगनिर्माण महिला समाज नेपाल रहेका छन् ।
