
गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन जित्ने गरी जुट्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आगामी स्थानीय तहको चुनावमा वडादेखि सबै तहमा कांग्रेसले बहुमत ल्याउने भन्दै खाँणले कार्यकर्ताले त्यही अनुसार काम गर्नुपर्ने बताए ।
कांग्रेस रुपन्देहीले सिद्धार्थनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले भने, ‘वडा र नगर प्रमुख, उपप्रमुख कांग्रेसले जित्ने गरी काम गर्नुहोस् । त्यसका लागि नेता कार्यकर्ता जनताको घरदैलोमा जानुपर्छ, कांग्रेस जनताको सुखदुःखको साथी हो । आगामी निर्वाचनमा कांग्रेसको उम्मेदवारको रूपमा प्रस्तुत हुनुहोस् ।’
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले कांग्रेसलाई आगामी दिनमा सबल, सुदढ र जनताको सेवक बनाउनुपर्ने बताए । उनले आगामी दिनमा कांग्रेस थप प्रखरताका साथ आफ्नो भूमिका निर्वाह गर्नसक्ने पार्टी बन्ने बताए ।
नेता खाँणले आगामी महाधिवेशनमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा सभापति बन्नुपर्ने बताए । प्रधानमन्त्री र पार्टी सभापनि एउटै व्यक्ति हुनुपर्ने उनको भनाइ छ ।
गृहमन्त्री खाँणले कुनै पनि उद्योगी व्यवसायीलाई विना कारण दुःख दिने काम गर्न नहुने समेत बताए । उनले सबै नागरिकको जीउधनको रक्षा गर्ने र यसको समुचित व्यवस्थापनका लागि गृह प्रशासन लागिपरेको बताए । मन्त्री खाँणले प्रहरी प्रशासनले विगतदेखि नै बलिदानपूर्ण काम गरेको बताउँदै सम्मान गर्नुपर्ने बताए ।
गृहमन्त्री खाँणले महामारीका बेला खाई–नखाई काम गरेका प्रहरीलाई उचित सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।