
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोक्सी प्रथालगायत विभिन्न कुरीति र विकृतिको अन्त्यका लागि मानिसको सोचाइमा परिर्वतन आवश्यक पर्ने बताएका छन् ।
बोक्सी कुप्रथाविरुद्ध राष्ट्रिय महाभियान सञ्चालन गर्दै आएको ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशनको बुधवार पोखरा महानगरपालिका–२५ हेमजामा उद्घाटन गर्दै उनले कानून, नियम र सरकारी निर्णयले मात्र कुरीति अन्त्य नहुने भएकाले सोचमा परिर्वतन र चेतना आवश्यक रहेको बताए ।
सामाजिक परिर्वतनको कार्य आफैंमा चुनौतीपूर्ण रहेको बताउँदै उनले विकृतिका रूपमा रहेका विभिन्न प्रथाको अन्त्यका लागि साझा दायित्व आवश्यक पर्नेमा जोड दिए ।
उनले भने, ‘राजनीतिक परिर्वतनका लागि समय लागे पनि सोको अनुभव छिट्टै गर्न पाइन्छ । छुवाछूत, महिला हिंसाजस्ता विभेद र गैरकानूनी कार्यलाई कानून बनाएर नियन्त्रण गर्न खोजे पनि कायम रहने गरेको छ । विकृति र कुरीतिको अन्त्यका लागि साझा दायित्व आवश्यक पर्दछ ।’
मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई बोक्सी विकृतिमुक्त प्रदेश घोषणा गर्न सकेको खण्डमा प्रदेश सरकारका लागि गौरव विषय बन्ने बताउँदै उनले प्रतिष्ठानसँग सहकार्य गरेर सरकार अघि बढ्न सरकार तत्पर रहेको बताए । माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले १ जना व्यक्तिबाट शुरू गरिएको बोक्सी प्रथा विरुद्धको अभियानलाई देशव्यापी बनाउन सरकारले अपनत्व लिनुपर्ने बताउँदै स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए ।