२८ जेठ २०८३, बिहीबार

बुटवलको चौराहा–गोलपार्क सडक निर्माण अलपत्र, ठेकेदारको बदमासीले जनतालाई सास्ती

कात्तिक २५, २०७८
बुटवलको चौराहा–गोलपार्क सडक निर्माण अलपत्र, ठेकेदारको बदमासीले जनतालाई सास्ती

बुटवलको मुख्य बजार क्षेत्र चौराहा–गोलपार्क सडकले पूर्वपश्चिम र सिद्धार्थ राजमार्गलाई जोड्छ । दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् ।

विगत ३ वर्षदेखि यो सडकमा एक पटक यात्रा गर्नेले बाध्यताले बाहेक अर्कोपल्ट यात्राको योजना सायदै बनाउँदैनन् ।

बुटवल–बेलहिया (सुनौली) सडक खण्ड अन्तर्गत पर्ने प्रदेश मुकामको ३.७ किलोमिटर सडक ३ वर्षदेखि खाल्डाखुल्डी, धुलो, र हिलोले बेहाल, अस्तव्यस्त छ ।

सडकमा बिहानदेखि साँझसम्म जाम हुन्छ । धुलोले सडक कुहिरीमण्डल हुँदा यात्रु र चालक नचिनिने हुन्छन् । सडककै कारण अहिले बुटवलमा प्रदूषण बढेको छ ।
 
वर्षायामभरी हिलो र पानी जमेका खाल्डाखुल्डी परे । अहिले हिउँदयाम शुरू भएपछि धुलोले बिजोग छ । केही ठाउँमा सडकको निसानै छैन, कतै कालोपत्रे उप्किएर कच्चीभन्दा फरक छैन ।

सडकका दायाँबायाँका घर र पसल अहिले धुलोले सेताम्मे छन् । खाल्डाखुल्डी र उबडखाबडले अहिले पैदलयात्रु र सवारीसाधनलाई सही नसक्नु कठिनाइ छ ।
  
सर्वसाधारण र सवारीसाधनले यो सडक प्रयोग गर्दा आजित भएर आक्रोश व्यक्त गर्छन् । बिरुवा कन्ट्रक्सन कञ्चनजंघा जेभी काठमाडौंले ३ वर्षअघि नै सडक निर्माणको ठेक्का पाएको हो । ठेकेदार सुमित श्रेष्ठले अहिले कामचोर प्रवृत्ति देखाएका छन् ।

ठेकेदारको चरम लापरबाहीसामु स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि लुम्बिनी प्रदेशको मुकामको सडक सर्वसाधारणका लागि सास्ती सावित भएको छ । 

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी ठेकेदारले काम नगरेको सजिलो उत्तर दिएर पन्छिन् । इन्जिनियर मरासिनीले ठेकेदारलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताए ।

मरासिनीले लोकान्तरसँग भने, ‘यसले काम गर्ने छाँट देखाएन । सीडीओलाई लगाएर नथुनेसम्म हुँदै भएन । यसले ठूलै नेताको साथ पाएजस्तो छ । मैले ‘एक्सन’ त लिएको छु । के थाहा ठेकेदारले त कर्मचारीलाई नै सरूवा गराउन बेर छैन ।’ 

मरासिनीले थपे, ‘दशैं पछाडि काम गर्छु भन्यो गरेन । फेरि तिहारपछि भन्यो गरेन, अब छठ भन्छ । सबैले मलाई नै काम नगरे जस्तो गराउँछन् । मैले त गर्नसम्म गरेकै छु । ठेकेदारले काम गरेन, दोष मलाई आएको छ ।’

ठेकेदारले पेश्की स्वरूप ८ करोड रुपैयाँ लगिसकेको छ । उसले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ३ वर्ष अगाडि नै ४१ करोड २३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०६८/०६९ बाट निर्माण शुरू भएको आयोजना राजमार्ग चौराहाबाट सुनौलीसम्म करीब निर्माण सम्पन्न भए पनि सडक संरचनाभित्र परेका घरधनी अदालत जाँदा बुटवल बजारमा सडक विस्तारको काम अगाडि बढ्न सकेको थिएन । 

शुरूमा ‘फोर लेन’ बनेको सडकलाई २०७२ सालमा ‘सिक्स लेन’ बनाउने गरी योजनामा परेको थियो । भद्रगोल बनेको सडक दशकपछि गत माघमा सबै झन्झट टुंगिएर काम गर्ने प्रक्रिया अगाडि बढाउँदै शिलान्यास भएको थियो तर ठेकेदारले काम नै गरेन । 

बुटवलका व्यवसायी सुन्दर भण्डारीले सडकको अवस्थाले व्यापारी र व्यवसायी आजित भएका बताए । ‘सरकारी निकायलाई भन्यौं सुन्दैनन्, कहाँ गुनासो राख्ने हो ? ३ वर्षदेखि हामी बर्बाद भएका छौं,’ भण्डारीले दुखेसो पोखे ।  

ठेकेदार सुमितले ठेक्का सम्झौतापछि सडक निर्माणमा आफूलाई कामको भार बढेको बताए । उनले लोकान्तरसँग भने, ‘सडकको सम्झौतापछि नयाँ डिजाइन आएको छ । मलाई काम बढ्यो । पुरानाको नाली बनाउने थिए । अहिले नाली थपिएको छ तर पनि मैले काम गर्छु भनेकै छु ।’ 

सडक विस्तारका लागि ‘साइड क्लियर’ भएर चौराहादेखि मिलनचोकसम्म दुवैतर्फका नाली मात्र बनाएको छ । अन्य कुनै काम अगाडि बढेको छैन । 

पटक–पटक सडक विस्तारको काम अगाडि बढाउन सडक डिभिजन कार्यालयले आग्रह गरे पनि ठेकेदार कम्पनीले काम नगरेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गत असारमा ठेकेदारलाई निगरानीमा राखेर थियो ।  

पछिल्लो पटक सडक विस्तार आयोजनाले गत पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । तोकिएको म्यादमा केही घरधनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन शुरू गरे पनि केहीले अटेर गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घर टहरा डोजर चलाएर भत्काइएको थियो । 

पछिल्लो रिट निवेदनमा गत वर्षको असार ९ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गत पुस २० गते गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो । 

सडक खण्डमा ३११ घर सडकको ८२ फुटभित्र परेका थिए । बुटवल–बेलहिया सडक विस्तारका लागि ६ अर्ब रुपैयाँ लागत योजना बनेको छ । सडक खण्डअन्तर्गत बेलहिया र भैरहवा बाइपासमा अझै काम बाँकी छ । यो काम पनि सुमितकै ठेक्कामा रहेको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी सडक निर्माण कार्यलाई अलपत्र नपार्न ठेकेदारलाई आग्रह गरे । आफूहरूले पनि सडक छिट्टो निर्माण अगाडि बढाएर सम्पन्न सडक डिजिनसँग छलफल र दबाब दिइरहेको बताए । विकासका हरेक आयोजनाहरू समयमा नबन्ने समस्याका पीडा सर्वसाधारणले भोग्नुपर्ने बाध्यता छ ।

नेकपा एमाले रुपन्देहीले सडक निर्माण कार्य छिटो गर्न परियोजना कार्यालयको ध्यानाकर्षण गराएको छ । बिहीवार कार्यालयमा ज्ञापनपत्र बुझाउँदै एमालेले खबरदारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्