
नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यतालगायत बाँकी रहेका विवाद यथाशिघ्र विधिसम्मत रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी एवं सदस्यहरुको आज भएको बैठकले पार्टीको आसन्न १४औँ महाविधेशनको तयारीलगायत विषयमा समिक्षा गर्दै सो विषयमा जोड दिएको हो । नेताहरुले महाधिवशेनअन्तर्गत अधिवेशनहरु निष्पक्ष हुनुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।
बैठकमा केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिमा क्रियाशील सदस्यता विवाद समाधान हुन नसकेको भन्दै समाधानका लागि विशेष पहल गर्ने सहमति भएको उनले बताए ।
यसै गरी महाधिवेशनमा वरिष्ठ नेता पौडेल समूहबाट सभापतिका लागि जो भए पनि एकमात्र साझा उम्मेदवार बनाउनुपर्नेमा सहभागी नेताहरुले जोड दिएका थिए । आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने सन्दर्भमा पनि छलफल भएको नेता केसीले जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु केसी, डा रामशरण महत, डा शेखर कोइराला, डा चन्द्र भण्डरी, धनराज गुरुङ, गगनकुमार थापा, कमला पन्त, सरिता प्रसाईलगायत सहभागी थिए । रासस