नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी शुक्रबार भर्चुअल कार्यक्रम गरेर कम्पनीले २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो ।
खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उतारेको जनाइएको छ ।
भौतिक रुपमा नयाँ प्याकेजिङ सार्वजनिक समारोहमा उपस्थित भएका र अनलाइनमार्फत विश्वभरबाट कार्यक्रममा जोडिएकाहरुले नयाँ प्याक विश्वस्तरीय देखिएको भन्दै तारिफ गरेका थिए ।
प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो । खुकुरी रमको उत्पादक, द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई परिष्कृत गरिएको र नयाँ प्याकेजिङले स्थानीय तथा विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास व्यक्त गरे ।
उनले नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको पनि बताए ।