
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयलाई स्कूल बस प्रदान गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाभित्रका २ वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ले जानकारी दिए ।
पाल्हीनन्दन–२ स्थित हरपुर मावि र पाल्हीनन्दन–६ स्थित सुकदेव मावि सनईलाई १/१ वटा विद्यालय बस शनिवार हस्तान्तरण गरिएको उनले बताए ।
उनले भने, ‘सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै अतिविपन्न विद्यार्थीको भविष्य सुनिश्चित गर्न हामीले बस सेवा थप गरेका हौं ।’
शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । थप २ वटा सामुदायिक विद्यालयलाई पनि केही दिनभित्र विद्यालय बस हस्तान्तरण गरिने गाउँपालिकाले जनाएको छ ।
भारतीय सीमासँग जोडिएको यो गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा पहिलोपटक विद्यालय बस सञ्चालन गरिएको हो ।