३० जेठ २०८३, शनिबार

यू–१९ क्रिकेट छनोट : बैतडीद्वारा दार्चुला पराजित

कात्तिक २७, २०७८
यू–१९ क्रिकेट छनोट : बैतडीद्वारा दार्चुला पराजित

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा बैतडीले विजयी सुरुआत गरेको छ ।  आज सम्पन्न खेलमा बैतडीले दार्चुलालाई ९२ रनले पराजित गरेको छ ।

एक सय ६५ रनको लक्ष्य पछ्याएको दार्चुलाको पारी २४ दशमलव २ ओभरमा मात्र ४८ रनमा समेटियो । दार्चुलाका लागि दिनेश विष्टले सर्वाधिक १४ रन बनाए । बलिङतर्फ बैतडीका गजेन्द्र बोहराले ५ विकेट लिए ।   यस्तै भूपेन्द्र चन्दले ३, विरेन्द्र नाथ र प्रदीप चन्दले एक÷एक विकेट लिए ।  बैतडीले  २४ रन अतिरिक्त पाएको थियो ।

त्यसअघि कञ्चनपुरको कभर्डहलमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ३० दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६४ रन बनाएको थियो । बैतडीका लागि नरेन भट्टले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए । कप्तान खडकबहादुर बोहराले ३८ र गजेन्द्र बोहराले २२ रनको योगदान दिए । बलिङतर्फ दार्चुलाका विपीन धामी, वीरेन बम र वीरेन्द्र विष्टले तीन तीन विकेट लिए। बैतडीका गजेन्द्र बोहरा म्यान अफ द म्याच घोषित भएको स्कोरर खेमराज भट्टले जानकारी दिए ।    

यस्तै कञ्चनपुरको खुलामञ्चमा भएको अर्को खेलमा कञ्चनपुरले बझाङलाई हराएको छ । कञ्चनपुरमा कात्तिक २४ गतेदेखि जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमुनिको टोली छनोट गरिने आयोजकले जनाएको छ । सो टोलीले उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा अगामी मङ्सिर ४ गतेदेखि उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ । रासस

salt training

कमेन्ट गर्नुहोस्