
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन मूल गेटमा धर्ना दिने उद्देश्यले कानून व्यवसायीहरू बार परिसरमा भेला हुन थालेका छन् ।
बिहान साढे ९ बजेदेखि नै कानून व्यवसायीहरू बार परिसरमा भेला हुने क्रम शुरू भएको हो । मूल गेटमा नै प्रदर्शन हुने भएपछि सर्वोच्च परिसर र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहीवार शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप भएको भन्दै बारले शुक्रवारदेखि आन्दोलन चर्काएको हो ।
आन्दोलनकारीलाई सर्वोच्च प्रवेश गर्न नदिन नेपाल बार एसोसिएसनबाट सर्वोच्च अदालत प्रवेश गर्ने गेट बन्द गरिएको छ भने आन्दोलनरत कानून व्यवसायीहरूलाई सर्वोच्च प्रवेश गर्न दिएको छैन ।

शुक्रवार पनि मूल गेटमा कानून व्यवसायीको धर्नाका कारण प्रधानन्यायाधीश जबरा महान्यायाधिवक्ताको कार्यालयतर्फको वैकल्पिक मार्गबाट सर्वोच्च प्रवेश गरेका थिए ।
आज भित्रै गएर दुवै गेटमा अवरोध गर्ने तयारी बारले गरे पनि उनीहरू रोक्न बारतर्फको गेट बन्द गरिएको हो ।
यसैबीच प्रधानन्यायाधीशहरूको पक्षमा प्रदर्शन गर्न उनका समर्थकहरू पनि सर्वोच्चको गेटमा पुगेका छन् । शुक्रवार पक्राउ परेर छुटेकाहरू नै आइतवार पनि सर्वोच्च गेटमा पुगेका हुन् ।
